१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कार्यसम्पादनमा बनेका कानुन नै वाधक : सांसद पन्थी



कपिलवस्तु ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधिकरण भन्ने मुलनारालाई जोड दिंदै आएको उद्योग व्यापार संघ कपिलवस्तुले सरोकारवालाहरु बिच बिजयादशमी, शुभ दिपावली, छठ, नेपाल संबतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका १ स्थित पिस हिमालयन रिसोर्टमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले नेपालमा कानुन, कार्यविधि र नीती बनेता पनि कार्य सम्पादनमा बनेका कानुन नै बाधक रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालमा प्रशस्त साधन स्रोत र सम्भावना भएपनि कानुनी जटिलताकै कारण नेपालमा सोचे अनुसार काम गर्न नसकिने प्रदेश सांसद पन्थीको तर्क थियो ।
सांसद पन्थीले अन्य मुलुकहरुमा उच्च पदमा रहेका व्यक्तिहरुले फिल्डमै गएर काम गर्ने गर्छन् तर नेपालमा फोटो खिच्न मात्र फिल्डमा जाने प्रवृतिले विकास हुन नसकेको बताउनु भयो । देशलाई माथि उकास्न सबै लाग्न जरुरी भएको बताउँदै स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । देशको आन्तरिक उत्पादन र विक्रीलाई जोड नदिदा सम्म अर्थतन्त्रमा सुधार नआउने बताउनुभयो । देशको अहिलेको स्थितीले उद्योग व्यवसाय लगाएत सवै क्षेत्र खत्तमै भयो भन्ने हत्तोसाहित प्रवृतिबाट माथी उठेर आफनो उत्पादन, बजारीकरण र कृषि व्यावसायिकतामा जोडदिन आग्रह गर्नुभयो ।
पेशागत महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम शर्माले कार्यक्रममा आफ्नो बिचार राख्नु हुँदै सबै खाले पेशाकर्मी तथा व्यवसायीहरुले ईमान्दारीका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोडदिंदै आफू कार्यरत जिल्ला प्रशासन कार्यालयले थुप्रै सुधारका कार्यहरु गरेको बताउनु भयो । आगामी दिनमा समेत जिम्मेवारी पूर्णढंगले सरकारी नीती अनुसार कार्यालयबाट प्रवाह गरिने सेवा र बजार अनुगमन लगाएतका बिषयहरुमा थप जिम्मेवार भएर कार्यालय अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
जिल्लामा राम्रा कामको प्रचारप्रसार अत्यन्तै कम हुने तथा कतिपयले गलत मनसाय राखी कार्यालयको छविलाई धमिलो बनाउन खोज्ने दुस्प्रयास गर्ने गरेको पाईयता पनि सो सफल हुन नसकेको बताउनु भयो । सेवाग्राही मैत्री काम गरिरहेको अवस्थामा जिल्लाका केहि जिम्मेवार व्यक्तिहरुले सहीकामको सहि मुल्यांकन गर्न नसकेको समेत गुनासो गर्नुभयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यहाँका केहि संघ संस्थालाई आफुहरुले पटक पटक निमन्त्रणा गरेपनि उपस्थित नभएको भन्दै गुनासो व्यक्त गर्नुभयो । देशकै आर्थिक अवस्था सङ्कटको स्थितिमा रहेको भन्दै त्यसबाट मुक्ति पाउनको लागि तिनै तहका सरकार र उद्योगी ब्यापारी मिल्नुको विकल्प नभएको बताउनुभयो । कपिलवस्तुका व्यवसायीहरु अवैध सामान आयातका कारण मर्कामा परिरहेको त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कठोर कदम चाल्न आवश्यक रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले देशमा मात्र नभएर यहीँ बाणगङ्गाका कयौं व्यवसायी टाट पल्टिदैं गएको हुँदा त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । कपिलवस्तु जिल्ला स्रोत साधन र आम्दानीको हिसाबले अब्बल रहेपनि उचित विकास हुन नसकेको भन्दै यसमा सम्बन्धित निकाय गम्भिर बन्नुपर्नेमा जोडदिनु भयो । उद्योग व्यापार संघका वित्त सल्लाहकार प्रेमराज घिमिरेले खस्किदै गएको अर्थतन्त्रको व्यवस्थापन गर्न सिमा नाकामा हुने चोरीतस्करी नियन्त्रण गर्नुपर्ने बताउनु भयो । पूँजीवाद दलालका कारण देश धरासायीमा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै मानव अधिकारकर्मी तथा पत्रकार पार्वती आचार्यले मायादेवी गाउँपालीका लगायत जिल्लाका धेरै स्थानमा शिक्षा र स्वास्थ्यका अवस्था कमजोर रहेको प्रति प्रदेश सांसद विष्णु पन्थीको ध्यानआकर्षण गराउनु भएको थियो । मायादेवीका विभिन्न विद्यालयमा एउटै शिक्षकले एकै पटकमा ३ वटा सम्म कक्षा लिनुपर्ने बाध्यतालाई उहाँले तत्काल समाधान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग व्यापार संघका सल्लाहकार अर्जुन पोख्रेल, मिन प्रसाद पोख्रेल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , बौद्ध शिक्षा कार्यक्रमका चर्तुभुज पाण्डे लगाएतले शुभकामना दिंदै जिल्लाका उद्योग व्यवसायीहरुलाई कसरी अर्थतन्त्रमा व्यवस्थापन गर्न र व्यवसायीहरुलाई प्रवर्धन गर्न सकिन्छ भन्ने बिषयमा जिल्लावासी बिभिन्न सरोकारवालाहरुले ध्यान जानुपर्नेमा जोडदिएका थिए ।
संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा संघका बस्तुगत उपाध्यक्ष बेदराज नेपालीको स्वागत मन्तब्य तथा संघका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, लेखा समितीका संयोजक, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८० आइतबार ००:००  ११ : ५६ बजे