१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा



काठमाडौं ।
ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ ।

बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्रामक र असंगत इजरायली सैन्य आक्रमणको निन्दा गर्दै बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।’

इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो । उसले यसअघि गाजा क्षेत्रमा मानवीय सहायता पठाउने भन्दै संघर्षविराम गर्न अपिल गरेको थियो ।

यसअघि पनि बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । सम्बन्ध तोडेको करिब एक दशकपछि सन् २०१९ मा पुनः यी दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

अहिले फेरि इजरायलले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध गरेको भन्दै बोलिभियाले कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उसले इजरायललाई सैन्य कारबाही बन्द गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८० बुधबार ००:००  १० : ४१ बजे