१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई आक्रमण



एजेन्सी ।
इजरायलले गजाको बाक्लो आवादी भएको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको छ।

मंगलबार उत्तरी गजापट्टीको जबालिया शरणार्थी शिविरमा इजरायलले हवाई आक्रमण गर्दा त्यहाँ दर्जनौं नागरिकहरू मारिएका छन्। आक्रमणबाट २० घर पूर्ण क्षति भएका छन्।

सिएनएनका अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासका कमान्डरलाई लक्षित गरि हवाई आक्रमण गरेको दाबी गरेको छ।

अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्ने योजना बनाउनेमध्येका एक हमास नेता इब्राहिम बियारीलाई लक्षित गरी हवाई आक्रमण गरिएको आइडिएफका एक प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेक्टले बताएका छन्।

हमासले आइडिएफको उक्ता दाबीको खण्डन गरेको छ। जबालिया शरणार्थी शिविरमा हमासका कुनैपनि कमान्डर नरहेको हमासका प्रवक्ता प्रवक्ता हजिम क्वास्सेमलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

उनले शरणार्थी शिविरमा महिला, बालबालिका र वृद्धवृद्धाको मृत्यु हुनेगरी इजरायलले गरेको आक्रमण जघन्य अपराध रहेको बताए।

सिएनएनका अनुसार गजाको इन्डोनेसियन अस्पताल हवाई आक्रमणमा परी मृत्यु तथा घाइतेहरूले भरिएको छ। आक्रमणमा परी मृत्यु भएकाहरूको शव अस्पताल बाहिर सेतो कपडा बेरेर लस्करै राखिएको छ।

मृतक र घाइतेको यकिन विवरण सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति : १५ कार्तिक २०८० बुधबार ००:००  १० : ४६ बजे