१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘डब्ल्यूएचओ’ को क्षेत्रीय निर्देशकमा नेपालका आचार्य पराजित, बङ्गलादेशकी वाजेद विजयी



काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकमा नेपालका शम्भुप्रसाद आचार्य पराजित हुनुभएको छ । आचार्यलाई पराजित गर्दै बङ्गलादेशकी साइमा वाजेद चुनिनुभएको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले आज बुधवार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई क्षेत्रीय निर्देशक चयन गरेको हो ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने व्यवस्था छ ।

यस पटक सैनिक शासन भएका कारण म्यानमारले मतदान गर्न नपाएकाले १० वटा देशमात्रै मतदानमा सहभागी भएका छन् । सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुन्छन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वको टोली क्षेत्रीय बैठकमा भाग लिन नयाँ दिल्ली गएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८० बुधबार ००:००  ३ : १९ बजे