७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भिजिट भिसामा ओमान गएकाहरूले काम गर्ने भिसा लगाउन नमिल्ने



काठमाडौं ।
भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ ।

गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने भएका हुन् ।

दूतावासले सूचना जारी गर्दै भनेको छ ‘भिजिट भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागू भएको छ, कसैले भिजिट भिसामा ओमान पठाउन खोजेमा सचेत हुनुहोस् ।’

दूतावासले काम पाउने आसमा भिजिट भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भिजिट भिसा जाने हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिलेजस्तो काम गर्न पाउँदैनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८० बुधबार ००:००  ३ : २३ बजे