१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्व कप क्रिकेटः दक्षिण अफ्रिकासँग न्युजिल्यान्ड फराकिलो रनले पराजित



काठमाडौं ।
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ ।

दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । न्युजिल्यान्ड समान खेलमा ८ अङ्ककासाथ चौथो स्थानमा छ । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो । उसका ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ र मार्को जेसनले ३ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रसी भान डे डुसेनको शतकमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । डी ककको यो विश्व कपमा चौथो शतक हो । डेविड मिलरले ५३ रन जोडे ।

न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए । विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८० बिहिबार ००:००  ७ : ४२ बजे