१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टी-ट्वान्टी विश्वकप नजिक नेपालः निर्णायक खेलमा यूएईको सामना गर्दै



काठमाडौं ।
आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।

विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ ।

नेपाल २०२२ मा छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल घरेलु मैदानमा त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुन चाहन्छ ।

आजको अर्को सेमिफाइनल खेलमा टीयू क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

हेड टु हेड
नेपाल र यूएईबीच टी-२० मा अहिलेसम्म ८ खेल भएका छन् । आठमध्ये नेपाल र यूएईले चार चार खेल जितेका छन् ।

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो । समूह चरणमा नेपालले यूएईविरूद्धका दुवै खेल जितेको थियो । फाइनलमा नेपालमाथि यूएईले ४ विकेटको जीत निकालेको थियो।

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको खेलमा जीत हात पारे विश्वकपमा पुग्ने अवस्था थियो । तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो ।

यूएईको टोली  :

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।

नेपालको टोली  :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

प्रकाशित मिति : १७ कार्तिक २०८० शुक्रबार ००:००  ६ : ३४ बजे