१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

नन्दनगरमा छुवाछुत अन्त्यका लागि सहभोज



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ नन्दनगरमा छुवाछुत अन्त्यका लागि सहभोज कार्यक्रम सम्पन्न भएको छ । आइतबार कोटहीमाई प्रा.वि.मा सवै जातजाती र समुदायको सहभागीतामा संयुक्त रुपमा सहभोज आयोजना भएको थियो।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्यहरु, मुस्लिम धर्मगुरु, मौलाना, पण्डित, दलित, युवा, महिलाहरुको सहभागीतामा सहभोज आयोजना गरिएको रुपान्तरण कार्यक्रमकी संयोजक धनेश्वरी घर्तीले जानकारी दिनुभयो । बालविवाह र छुवाछुत अन्त्यका लागि विगत वर्षदेखि सघन रुपमा वडामा काम भइरहेकाले अव छिट्टै नै घोषणा गरिने बताइएको छ ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले समाजमा विद्यमान कुरीति र कुसंस्कार विरुद्ध आफु लागिरहेको जानकारी दिनुभयो। समाजको चेतना बढाउन शिक्षालाई प्राथमिकता दिएको बताउदै प्रमुख चौधरीले विभिन्न निकायसंगको सहकार्यमा सामाजिक शसक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका नीति सल्लाहकार पोमनारायण पौडेलले सवै व्यक्ति समान भएकाले काम र पेशाका आधारमा व्यक्ति व्यक्ति बीचको भेदभाव समाजमा हानीकारक हुने भएकाले यसको अन्त्य जरुरी रहेको बताउनुभयो । महिला सशक्तिरण र चेतनाले समाजमा धेरै सकारात्मक परिवर्तन ल्याएकाले कुसंस्कार र छुवाछुत हट्दै गएको समेत उहाले बताउनुभयो।
कार्यक्रममा किशोरी क्लवकी सोरुपा मल्लाह, युवा क्लवका अरुण यादव, नागरिक बहस केन्द्रकी कैशर जहाँ, मौलाना अबुल हसन, पण्डित सुरेन्द्र प्रसाद चौवे लगाएतले छुवाछुत धेरै कम भइसकेको बताउदै सहभोजमा सहभागी भएका थिए । हामीले मान्ने धर्मग्रन्थ, कुरानले कुनैपनि व्यक्तिलाई भेदभाव गर्न नुहने र आदर सम्मान गर्नुपर्ने उल्लेख भएको सहभागीले बताएका थिए । शिक्षा र चेतनामा पछाडी परेकाले अझै पनि कही कतै छुवाछुत हुने गरेको बताएका थिए ।
सिद्धार्थले बालविवाह र छुवाछुत अन्त्यको रणनीति तयार गरी शसक्तिकरण, सचेतना, विभिन्न तालिम, नागरिक बहस केन्द्र संचालन गर्दै आइरहेको कार्यक्रम संयोजक धनेश्वरी घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०८० सोमबार ००:००  ९ : ५५ बजे