५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात



काठमाडौं ।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ ।

विशाखापटनममा गएराति भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हरायो । अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १ बल बाँकी छँदै भेट्टायो ।

भारतको जितमा सूर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । इशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए । त्यसअघि विशाखापटनममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि विकेट किपर जोश इङ्ग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको शानदार शतकीय इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन । दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटौँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८० शुक्रबार ००:००  ७ : ४८ बजे