१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेशमा मातृ मृत्युदर बढि हुँदा लज्जावोध हुन्छ : मेसु थापा



बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिडेण्टेन्ट सुदर्शन थापाले लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको तथ्यांक बढि देखिदा लज्जावोध हुने गरेकोे बताउनुभएको छ । उहाँले बुटवलमा आयोजित २ दिने प्रादेशिक अस्पतालको परिवार योजनाको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल कार्यक्रममा सो कुरा बताउनुभएको हो । प्रदेश स्तरको अस्पतालको सेवा प्रवाहका सम्बन्धमा हुने छलफलमा स्वास्थ्य सेवाको सूचकमा मातृमृत्यु दर बढि देखिनुले सेवा प्रदायक निकाय जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो । डा. थापाले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति सेवाका लागि विभिन्न स्थानबाट रिफर हुने संख्या बढि हुने भएकाले समस्या देखिएको बताएपनि त्यसबाट आफुहरु उम्कन नपाउने बताउनुभयो ।

डा. थापाले लुम्विनी प्रदेशमा मातृ मृत्यु दर बढी देखिनुले हामी माथी नै प्रश्न चिन्ह खडा भएको उल्लेख गर्नुभयो । डाक्टर आफै काउन्सेलर हो, २/४ मिनेट समय दिएर सल्लाह दिंदा सेवाग्राहीको जीवनमा सकारात्मक परिवर्तन आउने गरेको उल्लेख गर्नुभयो । डा. थापाले सरकारी तथा अन्य निकायको सहयोग र लगानीलाई प्रतिफलमा ल्याउने गरि कार्य योजनालाई व्यवहारमा उतार्नु आवश्यक भएको बताउँदै त्यसका लागि चेक लिस्ट बनाएर सम्पर्क व्यक्तिले जिम्मेवारी लिनुपर्ने बताउनु भयो । उहाँले प्रसुति सेवा, परिवार योजना सम्बन्धी सेवा प्रदायकको क्षमता बढाउन आवश्यक भएको समेत बताउनु भयो ।

त्यस्तै युएनएफपीएका प्रादेशिक संयोजक राम थापाले अस्पतालको परिवार योजना सुदृढीकरण कार्यका लागि सेवा प्रदायक निकायलाई सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सूचना सन्देश सामग्री, आवश्यक व्यवस्थापन, प्रदेश स्तरमा तालिम केन्द्रलाई क्षमता अभिवद्धिको लागि सहयोग गर्ने लक्ष्य रहेको बताउनुभयो।
अस्पतालको प्रसुति सेवा संग सम्वन्धित युनिट, अन्य सम्वन्धित डिपार्टका प्रतिनिधीको सहभागीता रहेको थियो । ३० जनाको सहभागिता रहेको उक्त गोष्ठीमा डा. राजेन्द्र भद्रले सहजीकरण गर्नु भएको थियो । २ दिन सम्म संचालित कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रको प्राविधिक सहयोगमा संम्पन्न भएको फोकल पर्सन तिलोचन घिमिरेले जानकारी दिनुभयो। अस्पतालबाट दिइने परिवार योजनाको सेवा केन्द्रलाई थप सुदृढीकरण गर्ने उद्देश्यले क्षमता अभिवृद्धि गोष्ठी आयोजना गरिएको हो।

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ७ : ३९ बजे