१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आम जनता पार्टीले भोट फिर्ता अभियान चलाउने



काठमाडौं ।
आम जनता पार्टी (आजपा) ले भोट फिर्ता अभियान चलाउने भएको छ ।मंसिर ११ र १२ गते काठमाडौंको कोटेश्वरमा बसेको स्थायी कमिटीको पूर्ण बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका अलावा विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई समातेर प्रहरीलाई बुझाउने निर्णय पनि बैठकले गरेको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकले जनसरोकारका मुद्धाहरुमा जन संगठनहरुले अध्ययन र खबरदारी गर्ने गरी जिम्मेवारी पनि तोकेको छ ।

भन्सारको बिषयमा आम सम्पर्क मञ्च, वैदेशिक रोजगार पीडितको बिषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको बिषयमा आम किसान मोर्चा, आवासको बिषयमा आम दलित मोर्चा, मदरसा शिक्षाको बिषयमा आम मुस्लिम मोर्चा र यातायातको भाडा सहुलियतको बिषयमा आम बिद्यार्थी मोर्चाले अध्ययन गरेर खबरदारी गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

सातै प्रदेशमा तोकिए इन्चार्ज

आजापाले सातै प्रदेश इन्चार्जहरु पनि तोकेको छ । लिम्बुवान किरातमा रामप्रित राम, मधेशमा सुधीर यादव, ताम्सालिङ नेवामा अरुण घिसिङ, तमुवान गण्डकमा तिलक थापा, लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदूर पश्चिममा ज्ञानेन्द्रकुमार तामाङलाई ईन्चार्ज तोकिएका छन् ।

प्रवासका देशहरूमा सम्पर्क र संगठन स्थापनाका लागि पनि जिम्मेवारी तोकिएको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा तिलक थापा मगर, अमेरिका र क्यानडामा ज्ञानेन्द्र कुमार तामाङ, दक्षिण कोरियामा चन्द्रभूषण साह, मलेसियामा उमेश कुशवाह, भारतमा बाबुराम कौशिक, बिजय यादव, साउदी अरेयिबा, कतार र दुबईमा लालबाबु मन्सुरीलाई जिम्मेवारी दिइएको छ ।

साथै, आजपाले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बद्रीप्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्म पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ९ : ०१ बजे