४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान



काठमाडौं ।
दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्कने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् ।

दुर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ वर्षीय विकेटकिपर ब्याट्सम्यान पन्त आगामी आईपीएलमा कप्तानको भूमिकामा फर्किने जानकारी दिए ।

सडक दुर्घटनामा परेर घाइते भएका पन्तको घुँडाको शल्यक्रिया गरिएको थियो ।उनको लिगामेन्टमा पनि गम्भीर समस्या देखिएको थियो । अहिले पन्तको स्वास्थ्यमा सुधार आएको समाचारमा जनाइएको छ । केही क्रिकेट विश्लेषकले भने पन्त अझै पूणर्रुपमा स्वस्थ्य भइनसकेको दाबी गरेका छन् ।

दिल्ली क्यापिटल्सले भने आगामी आईपीएलमा विकेटकिपरको भूमिका निर्वाह गर्न नसके पनि पन्तले टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्ने विश्वास लिएको छ । दिल्ली क्यापिटल्सले आफ्ना दुवै विकेटकिपर फिल साल्ट र सरफराज खानलाई रिलिज गरिसकेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८० बिहिबार ००:००  ७ : ४१ बजे