१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सामाजिक रुपान्तरणको कार्य आफैबाट शुरुवात गर्नुपर्दछ : सांसद अधिकारी



वाणगंगा ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परीक्षण कार्यक्रम शुक्रबार वाणगंगा ४ ठाकुरापुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले सामाजिक परिवर्तन कार्य आफुबाटै शुरुवात गरी अघि बढ्नुपर्ने बताउनुभयो । उँहाले समाज रुपान्तरणको प्रकृया लामो समयसम्म चल्ने र अप्ठ्यारो हुने भएकाले यसको निरन्तरतामा संघसंस्थाको भूमिका अपरिहार्य भएको जोड दिनुभयो ।
सांसद अधिकारीले संस्थाले सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक रुपान्तरण आवश्यक रहेको बताउदै समाजका हरेक वर्गको जीवनस्तर माथि उकास्न सिद्धार्थले खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद अधिकारीले युवा, किशोरकिशोरी तथा महिलाको सशक्तिकरणको क्षेत्रमा विभिन्न परियोजना संचालन गरि त्यसले समाजमा सकारात्मक परिणाम दिएको बताउनुभयो ।
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगा नगरपालिकासंग विगतदेखि नै हातेमालो गर्दै अघि बढेको स्मरण गर्दै आर्थिक सामाजिक रुपान्तरणमा संस्थाको विशेष भूमिका रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्यबाट बञ्चित समुदाय, वर्गलाई त्यसको पहँुचमा ल्याउन आवश्यक रहेको बताउँदै परिवर्तनशील समाजलाई सही दिशातर्फ उन्मुख गराउन सिद्धार्थ सामाजिक विकास केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्यकुमारी शाहीले समाजिक क्षेत्रको विकासमा संस्थाको लामो इतिहास रहेकाले यसको दिगोपनामा जोड दिइरहेको बताउनुभयो । उहाँले विभिन्न निकायसंगको सहकार्यमा महिलाहरुको सशक्तिकरण, सचेतना र अधिकारको क्षेत्रमा संस्थाले धेरै काम गरेको बताउनुभयो । संस्थाका सचिव दुर्गा अर्यालले संस्थागत जानकारी, लक्ष्य, उद्देश्य, मुल्यमान्यता, कार्यगत अवधारणा, कार्य संचालन प्रक्रिया, कार्यक्षेत्र लगायतका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गैर सरकारी संस्था कपिलवस्तुका निवर्तमान अध्यक्ष प्रविणकुमार श्रवास्तवले सामाजिक परिक्षणको प्रतिवेदन, घटना अध्ययन र संस्थागत उपलब्धी, समस्या र चुनौतीबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा वडा अध्यक्ष नगेन्द्र प्रसाद थारु, गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डे, स्थानीय समूह, संघसंस्था, संजालका प्रतिनिधी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सुर्यकुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत तथा सह–सचिव धु्रब वेलवासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ८ : ३२ बजे