१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले कपिलवस्तुको टोली भुकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणमा खटिदै



वाणगंगा, मायादेवी अनलाइन ।
आफ्नो पेशा व्यवसाय छाडेर भुकम्प प्रभावित क्षेत्रमा पुगेर पिडितको स्वास्थ्य उपचार, उद्धार र भत्किएका घरहरुको पुनःनिर्माणको लागि स्वयंसेवकको रुपमा नेकपा (एमाले) कपिलवस्तुको टोली खटिएको छ । गत कार्तिक १७ गते भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा मानवीय तथा भौतिक क्षति भएपछि कपिलवस्तु एमालेको टोली स्वास्थ्य उपचार सहित पुनःनिर्माणको लागि खटिएको हो । स्वास्थ्यकर्मी सहित महिला, युवा, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध पार्टिका नेता तथा कार्यकर्ताले दिनहु श्रमदान गरिरहेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।


एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावित क्षेत्र पुगेको स्वयंसेवकको टोली निरन्तर काममा खटिएको हो । जिल्ला कमिटी अध्यक्ष डम्बर शर्माको नेतृत्वमा पुगेको टोलीले शुक्रबार ११ औँ दिनसम्म घरटहरा निर्माणमा जुटेको छ । टोलीले रुकुम पश्चिमको आठबीसकोट, चिसापानी र जाजरकोटको नलगाढमा पार्टी कार्यकर्ताले स्वयंसेवकको रुपमा काम गरिरहेको बताइएको छ ।
भुकम्प प्रभावित सर्वसाधारणको स्वास्थ्य उपचारदेखि घरगोठ निर्माणको काम गरिरहेको छ । टोलीमा रहेका नेता धर्मराज भट्टराईले चिसोमा काम गर्न समस्या भएपनि भुकम्प प्रभावित समुदायको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
गठबन्धन सरकार तथा बिभिन्न राहत बाँड्ने टोलीको काम प्रचार प्रसार चर्चामा आएजस्तो नभएको भन्दै धेरै प्रभावितहरु उद्धार र राहतको प्रतिक्षामा रहेको नेता भट्टराइले बताउनुभयो । आफूहरुको कामबाट प्रभावित क्षेत्रका आमाबुवाले राहत र उपचार पाएको बताउनुभयो । गत मंसिर ४ गते स्वयंसेवकको टोली जाजरकोट पुगेको थियो ।


यता भुकम्प पिडितहरुको दयनीय अवस्था देखेर पार्टीले चलाएको अभियानले भुकम्प प्रभावितहरुको घाउमा मलहम लगाउन पाउँदा खुसी लागेको एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले बताउनुभयो । पुनःनिर्माणमा खटिनुभएका राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक कमल क्षेत्रीले राजनीतिक दलहरु निर्वाचनका बेला जनताको घरदैलोमा पुग्ने गरेको भएपछि दुखमा भने सवैले विर्सने गरेको वास्तविकता सुनाउदै आफनौ पार्टी नेकपा एमाले भने जनताको दुःखमा सधै साथ दिएर आएको बताउनुभयो । उहाँले देशैभरीबाट संयौँ युवाहरु स्वयंसेवकको रुपमा खटिएको बताउँदै निरन्तर भुकम्प पिडितहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ९ : ४२ बजे