१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङबाट हराएका बालक ८ दिनपछि काठमाडौंमा भेटिए



काठमाडौं ।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् ।

उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जीवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावुक भएँ, मेरो खुसीको आँसु झर्यो, छोरो पनि रोयो’, जीवराजले भने ।

खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाडौं आएका थिए । प्रहरीले पनि खोजी जारी राखेको भए पनि जीवराज आफैंले छोरालाई फेला पारेका थिए ।

बुवा जीवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए ।

घुम्न भनेर दाङबाट काठमाडौं आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ । उनका बाबु जीवराजले भने, ‘घरबाट काठमाडौं आएपछि फेरि काठमाडौंबाट बस चढेर नेपालगञ्ज, सुर्खेत पुगेर काठमाडौं नै फर्किएछ । नेपालगञ्जमा साइकल किनेर, काठमाडौं ल्याएर स्वयम्भुसम्म घुम्न पनि गएछ ।’

प्रकाशित मिति : १८ मंसिर २०८० सोमबार ००:००  २ : २३ बजे