५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इन्ज्युरी समयको गोलमा आर्सनल विजयी



एजेन्सी ।
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटोन टाउनलाई हराएको छ । गए राति केनिलवर्थ रोडमा भएको खेलमा आर्सनलले घरेलु टोलीलाई ४–३ गोलको अन्तरले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इन्ज्युरी समयमा गोल गर्दै आर्सनल विजयी भयो । आर्सनलका गेब्रियल मार्टिनेलीले २० औँ, गेब्रियल जेससले ४५ औँ, काई हाभेर्ट्जले ६० औँ र डेकलन राइसले इन्ज्युरी समयको ७ औँ मिनेटमा गोल गरे । लुटोन टाउनका गेब्रियल ओशोले २५ औँ, एलिजह एडेबायोले ४९ औँ र रोस बार्क्लेले ५७ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै आर्सनल १५ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । आर्सनलले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ५ अङ्कको अग्रता बनाएको छ । लुटोन टाउन उति नै खेलमा ९ अङ्कसहित १७ औँ स्थानमा छ ।

यस्तै गए राति नै भएको अर्को खेलमा उल्भ्सले बर्नलेलाई १–० गोल अन्तरले हरायो । मोलिनेक्स स्टेडियममा भएको खेलमा उल्भ्सको जितमा ४२ औँ मिनेटमा ह्वाङ ही चानले गोल गरे ।

यो जितसँगै उल्भ्स १५ खेलमा १८ अङ्कसहित तालिकाको १२ औँ स्थानमा छ । बर्नले उति नै खेलमा ७ अङ्कसहित १९ औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८० बुधबार ००:००  ८ : ०८ बजे