१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पश्चिमी वायु र सामुद्रिक आँधीले मौसम बदली, केही प्रदेशमा वर्षाको सम्भावना



काठमाडौँ ।
नेपालमा पश्चिमी वायुसँगै भारतको आन्द्र प्रदेश आसपास रहेको मिक्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको प्रभावको कारण मौसम बदली भएको छ।

मिक्जउम आँधी र पश्चिमी वायुको कारण हाल कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ।

आज कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखिसामान्य बदलीको अवस्था रहनेछ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरिको तापक्रममा गिरावट आउने क्रम बढ्दै गएकाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८० बुधबार ००:००  ८ : १९ बजे