५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाल यू-१९ एसिया कपमा पाकिस्तानसँग पराजित



काठमाडौँ ।
नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग सजिलै ७ विकेटले पराजित भएको छ । यूएईमा शुक्रबार सुरु प्रतियोगिताको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमै अलआउट भएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा जवाफमा पाकिस्तानले २७ ओभरभित्र लक्ष्य पूरा गरेको थियो । अजान अवाइस ५६ रन बनाई अविजित रहे । अर्का अविजित ब्याटर मोहम्मद जिसानले ८ बल खेली २ चौका र २ छक्कासहित २० रन बनाए ।

गुल्शन झाले पहिलो ओभरमै सामिल हुसैनलाई शून्यमा कट एन्ड बोल्ड गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर सहजाइब खानलाई गुल्शनले १५ रनमा आउट गरेका थिए । त्यसपछि अवाइस र कप्तान साद बैगले तेस्रो विकेटमा १ सय ८ रनको साझेदारी गरी सजिलै खेल नेपालको हातबाट निकालेका थिए ।

अवाइसले ६२ बल खेली ८ चौका प्रहार गरी ५६ रन बनाए । बैगले ५६ बल खेली ५ चौका प्रहार गर्दै ५० रन जोडे । उनलाई आकाश त्रिपाठीले आउट गरे । गुल्शनले ८ ओभरमा १ मेडन राख्दै ५४ र आकाशले १.२ ओभरमा ८ रन खर्चे ।

खेल नायक भने पाकिस्तानका अग्ला तीव्र बलर जिसान थिए । उनले ९।२ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिइ प्लेयर अफ द म्याच बने । अमिर हसनले २ तथा उबाइद शाह र अली असफान्डले १–१ विकेट लिए ।

नेपालबाट उत्तम थापामगरले ५१ रन बनाए । उनले ७६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए । नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका कप्तान देव खनाल शून्य र गुल्शन १ रनमा आउट भएपछि नेपालले पुरै इनिङ्स दबिएर खेलेको थियो ।

नेपालले आइतबार अफगानिस्तानविरुद्ध समूहको अर्को खेल खेल्ने छ । जनवरीमा दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, अफगानिस्तानसहित न्यूजिल्यान्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २२ मंसिर २०८० शुक्रबार ००:००  ८ : २१ बजे