१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भेरी अस्पतालमा परिवार योजनाबारे गोष्ठी सम्पन्न



बाँके ।
लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगंजमा परिवार योजना सम्बन्धी २ दिने गोष्ठी शुक्रबार सम्पन्न भएको छ । अस्पतालमा प्रसुतीसंग सम्वन्धित विभिन्न विभागका कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संचालित गोष्ठीमा उत्तर प्रसुती परिवार योजना सम्बन्धी अभिमुखीकरण गरिएको थियो । लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा मातृ मृत्यु दर बढिरहेका बेला उक्त गोष्ठीले स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने बताइएको छ ।
अस्पतालको परिवार योजनाको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विभिन्न्न विषयमा छलफल भएको थियो । गोष्ठीमा संघीय अस्पतालको सेवा प्रदायक निकायले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै परामर्शमा ध्यान दिई मातृमृत्यु दर न्यूनीकरणमा जिम्मेवार हुनुपर्नेमा बताइएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले सरकारी तथा अन्य निकायको सहयोग र लगानीलाई प्रतिफलमा ल्याउने गरि कार्ययोजनालाई व्यवहारमा उतार्नु आवश्यक भएको बताउँदै त्यसका लागि टिमवर्कमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रसुति सेवा, परिवार योजना कार्यक्रमबारे सेवा प्रदायकको क्षमता बढाउन आवश्यक भएको बताउदै सेवाग्राहीको व्यवहार परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो ।
अस्पतालका नर्सिङ निर्देशक दुर्गा लक्ष्मी श्रेष्ठले हरेक चिज सम्भावना भएकाले स्वास्थ्यकर्मी पदीय जिम्मेवारी पुरा गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । अस्पतालको परिवार योजना सुदृढीकरण कार्यका लागि सेवा प्रदायक निकायलाई सहयोग गर्दै आएको सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रतिनिधी हरि अधिकारीले जानकारी दिनुभयो । सूचना सन्देश सामग्री, आवश्यक व्यवस्थापन सहयोग, क्षमता अभिवृद्धिको लागि सहयोग गर्ने उद्येश्य रहेको बताउनुभयो ।
३० जनाको सहभागिता रहेको उक्त गोष्ठीमा डा. राजेन्द्र भद्राले सहजीकरण गर्नुभएको थियो । उहाँले परिवार नियोजन, अस्थायी साधन, स्थायी सेवा, प्रसुती सेवा प्रवाह, विभिन्न देशको स्वास्थ्य अवस्था, वकालत र कार्ययोजना कार्यान्वयन लगायतका विषयमा छलफल गर्नुभएको थियो ।
गोष्ठी भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८० आइतबार ००:००  ८ : ३० बजे