१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको शेखर समूहले भन्योः राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण होस्



काठमाडौं ।
नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ ।

भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले भने महासमिति बैठक फेरि सार्ने तयारी गर्नुभएको छ । पटकपटक सर्दै आएको बैठक यस पटक भने जाडो र राष्ट्रिय सभा चुनावको कारण देखाउँदै सार्न लागिएको हो।

प्रकाशित मिति : २८ मंसिर २०८० बिहिबार ००:००  ७ : ३१ बजे