१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज १४ औँ कपिलवस्तु महोत्सवको समापन



कपिलवस्तु ।
कपिलवस्तु बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच समापन हुने भएको छ ।

समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उद्देश्यले १४ औं सँस्करण मध्ये वेलफेयरको आयोजनामा छैठौ पटक आयोजना गरिएको महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज दिउँसो समापन गर्ने कार्यक्रम तय भएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन भन्ने नाराका साथ महोत्सवको नेतृत्व आफूले गरेको महोत्सव सफलता उन्मुख रहेको खाँणले बताए ।

७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेको १४ औं कपिलवस्तु महोत्सव पनि सफल भएको बाणगंगाका अगुवा बुद्धिजीविहरुले बताएका छन् ।

समापन सत्रमा कपिलवस्तु जिल्लाका संघीय सांसद तथा प्रदेश सांसद जिल्लाका राजनीतिक दल, संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहने छ ।

यसैबीच महोत्सवको १० दिन शनिबार महोत्सवको करिब १५ हजार दर्शक र ५० लाख बढीको कारोबार भएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहाले जानकारी दिए ।

शनिबार नै राष्ट्रिक कलाकार पुष्कल शर्मा, टंक तिमिलसिना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाहीको बेजोड प्रस्तुती रहेको थियो ।

१२ औं कपिलवस्तु डान्स आइडल तर्फ टप ५ मा परेकी विशेष झेडी बाहिरीएकी डान्स आईडल संयोजक खड्क बहदुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार आइतबार टप ४ फाईनलिस्टमा परेका विहान कार्की, प्रिन्सिका खाँण, मोनिका राना र मेनिसा छहारीले आआफ्नो प्रस्तुति दिने छन् । डान्स आईडलको उपाधि शत प्रतिशत दर्शकको भोटको आधारमा घोषणा गरिने क्षेत्रीले बताए ।

महोत्सवमा ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइएको छ । धेरै भन्दा धेरै दर्शक भित्राउने र महोत्सव अवलोकन कर्ताहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले यो पटक महोत्सव प्रवेश शुल्क रु ७०।– बाट घटाएर रु। ६०।– मात्र गरिएको छ ।

१४ औं कपिलवस्तु महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

महोत्सवमा तीन सय बढी स्टल रहेका जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी रहेका थिए ।

प्रकाशित मिति : १ पुस २०८० आइतबार ००:००  ११ : ०५ बजे