१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने सचिव श्रेष्ठले बताउनु भयो ।

‘श्रेष्ठले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।

बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको सचिव श्रेष्ठले बताउनुभयो । उहाँले केन्द्रीय कमिटीको सङ्ख्या कस्तो बनाउने, महाधिवेशन चुनावको विधि कसरी गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सचिव श्रेष्ठले सङ्गठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो । विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भए पनि सबैखालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०८० मंगलबार ००:००  ८ : ४८ बजे