८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

ट्रम्पलाई झट्का, राष्ट्रपतिको उम्मेदवार बन्न नपाउने अदालतको फैसला



एजेन्सी ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडो अदालतले ठूलो झट्का दिएको छ । बीबीसीका अनुसार अदालतले मंगलबार उनलाई आगामी राष्ट्रपति चुनावको प्रारम्भिक मतदानबाट अयोग्य ठहर गरेको छ ।

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएको यो पहिलो पटक हो । यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ । अदालत यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ ।

अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यो निष्कर्षमा त्यत्तिकै पुगेका हैनौँ । हामी हाम्रा अगाडि रहेका प्रश्न र त्यसको नतिजा कति ठूलो हुने हो भन्ने बारेमा सचेत छौँ ।’

फैसलामा अगाडि भनिएको छ, ‘कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यलाई सचेत गर्दै, कुनै डर, पक्षपातबिना र कसैको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ ।’

तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनेछन् । २०२१ मा अमेरिकी क्यापिटल दंगामा ट्रम्प संलग्न भएको आरोप छ ।ट्रम्पका समर्थकहरू जनवरी २०२१ मा क्यापिटल हिलमा प्रवेश गरेका थिए र उनीहरूले २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनको विजयलाई स्वीकार गरेका थिएनन् ।

अमेरिकामा भएका विभिन्न सर्वेक्षणहरूले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा ट्रम्प बलिया दाबेदार रहेका देखाएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ८ : ०८ बजे