८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

नेपालगञ्जको एकीकृत जाँच चौकीको निर्माण एक महिनाभित्र सक्न भारतको निर्देशन



काठमाडौं ।
नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी सञ्चालनमा ल्याउने बिषयमा आवश्यक गृहकार्य सुरु भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार ४४.३६ हेक्टर क्षेत्रफलमा निर्माणको अन्तिम चरणमा रहेको यो जाँच चौकी सञ्चालनमा ल्याउने विषयमा सोमबार मात्रै नेपाल र भारतका अधिकारीहरुले संयुक्त रुपमा स्थलगत अवलोकन गरेका छन् ।

भारतको परराष्ट्र मन्त्रालयका सहसचिव, ल्याण्ड पोर्ट अर्थोरिटी अफ इण्डिया, आईसीपी रुपैडिया, रुपैडिया कस्टम, एसएसबी इण्डियालगायतका निकायका अधिकारी र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रको संयुक्त टोलीले नेपालगञ्ज एकीकृत जाँच चौंकीको स्थलगत अनुगमन गरेका छन् ।

अवलोकनको क्रममा भारतको परराष्ट्र मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तबले उक्त जाँच चौंकीको निर्माण कार्य १ महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

जाँच चौकीमा पानी ट्याङ्की, सिसिटिभि जडान, नेटवर्किङ्ग, फायरफाइटिङ्ग सिस्टमलगायतका कार्यहरु बाँकी रहेकाले १ महिनामा सम्पन्न गर्न निर्देशन दिइएको हो । जाँच चौकी सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले आवश्यक सम्पूर्ण तयारी पुरा गरि सकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।

‘जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोध समेत गरि सकेका छौं,’ गजुरेलले भने । जाँच चौकी निर्माण गर्न नेपाल सरकार र भारत सरकारवीच सन् २००५ अगष्ट ३ तारिखमा समझदारी भएको थियो ।

सम्झौतापश्चात एकीकृत जाँच चौकी नेपालगञ्जको निर्माण २०७७ असोज २६ गतेदेखि सुरु भएको थियो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जेठ १८ गते उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ३ : १९ बजे