७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको लाइन



काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो ।

प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो ।

शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ ।

शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

यसैगरी,  कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी इस्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  ९ : ३६ बजे