५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एक वर्षमै संस्थागत पहिचान सहित व्यवसायीको मन जित्यौं : अध्यक्ष पौडेल



कपिलवस्तु ।
उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै उद्योगी व्यवसायीको हकहितमा काम गरेर मन जितेको बताएको छ ।

स्थापना भएको एक वर्षको अवधीमा भए गरेका कामको प्रगती विवरण सार्वजनिक गर्दै उद्योगी व्यवसायीका समस्या र हक अधिकार र सामाजिक क्षेत्रमा उल्लेखीय काम गरेको सार्वजनिक गरेको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले बताए ।

२०७९ माघ १० गते सम्पन्न अधिवेशन पश्चात् खिमानन्द पौडेलको अध्यक्ष निर्वाचित कार्यसमितिले एकवर्षमा गरेका कार्यप्रगती मंगलबार संघको कार्यालयमा पत्रकार तथा सरोकारवाला समक्ष सार्वजनिक गरेको थियो ।

उद्योगी व्यवसायीको पक्षमा आफुले निरन्तर काम गरिरहेको बताउदै उनले भने, एक वर्षकै अवधीमा संस्थागत पहिचानमा ठुलो सफलता हासिल गरेका छौं । संस्था स्थापना भएपछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराउदै व्यवसायी सम्वद्ध अन्य संघसंस्था, स्थानीय तहहरुले उद्योग व्यापार संघ कपिलवस्तुलाई फरक दृष्टिकोण राखेर विभेद गरेको समेत बताए ।

छोटो अवधीमै संघले गरेका राम्रा कामलाई पुराना भन्ने व्यवसायी संस्थाहरुले स्वीकार्न नसकेको समेत औल्याएका थिए । अझै पनि उद्योगी व्यवसायी संस्थाका अगुवा नेताहरुले आफुहरुलाई हेपाहा प्रवृतिको व्यवहार देखाउने गरेको बताएका छन् । उद्योगी व्यवसायीको हितमा निरन्तर आवाज उठाइरहदा र सामाजिक गतिविधीमा सकृय हुदाँ अन्य त्यस्तै प्रकृतिका संस्थाहरुले सकारात्मक नलिएको बताएका थिए ।

उनले संघले गरेको प्रगती सुनाउदै विभिन्न निकायहरु अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरीक राजश्व कार्यालयमा राजश्वको दर, कर सम्बन्धी महत्वपूर्ण लिखित सुझावहरु पेश गरेको बताए । अपांगता भएका व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने फाउण्ड परियोजना संगको सहकार्यमा १० जना अपांगता भएका व्यक्तिलाई रोजगारीमा जोड्ने प्रतिवद्धता पुरा गरेको र पहिलो वर्षमै क्यालेण्डर प्रकाशित गरेर जिल्लाको पहिचान र संस्थाको पहिचानमा महत्वपूर्ण टेवा पुराएको बताए ।

लोकतन्त्र दिवसमा रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा समर्पित संघले जिल्लाको दक्षिणी क्षेत्र पकडीमा समेत रक्तदान गरेर सामाजिक क्षेत्रको गतिविधी बढाएको थियो । मधौलिया सामुदायिक बन उद्यानमा विरुवा रोप्ने कार्य गरेर वातावरणीय स्वच्छता र सौन्दर्यकरणमा टेवा पुराएको छ । उद्योग व्यापारसंग सम्वन्धित कानुनी प्रावधान, अन्तशुल्क, साधारण कर, मूल्य अभिवृद्धि कर, अडिट, आय विवरण लगाएका विषयमा व्यवसायीलाई सहजीकरण गरेको छ । विभिन्न निकायसंगको सहकार्यमा कर सप्ताह, कर प्रशिक्षण संचालन तथा समय समयमा शुभकामना आदान प्रदान गरिएको संघले जनाएको छ ।

७ दशक लामो इतिहास बोकेको संस्थाले गर्न नसकेका कामहरु छोटो अवधीमै गरेर सफलता प्रमाणित गरेका छौं, उनले भने– ‘हामी, संस्थालाई फुटाउन विभिन्न षडयन्त्र, अनर्गल प्रचार र आरोपका प्रयासहरु भए तरपनि सवै चुनौतीलाई पारगर्दै संस्था अघि बढीरहन सफल भयौं । कुनै राजनीतिक दलको गन्ध नदिईकन उद्योगी व्यवसायीलाई संगठित गरेर उनीहरुका हकहित र साझा मुद्धामा सदैव काममा प्रतिवद्ध छौं,’ अध्यक्ष पौडेलले भने ।

विना भन्सारका सामान आउदा नेपाली व्यवसायी धेरै मारमा परेको कुरा हामीले जोडदार माग गर्दै आएका छौं । कपिलवस्तुका भन्सार नाकाबाट १ सय भन्दा बढिको सामान आउदा अनिवार्य भन्सार गरेर आउनुपर्ने माग जिल्ला प्रशासन कार्यालय र अन्य सम्वन्धित निकायमा राखेका छौं । खुला सिमाना कारण विना भन्सार सामानहरु आउदा नेपाली व्यवसायी धेरै मारमा परेको बताइएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण, प्रवर्धन र विक्री वितरणमा सहज बनाउनु पर्ने आवश्यकता छ । नेपालमा विना भन्सार भारतीय बस्तुहरु सर्फ, चिनी, अन्य खाद्यवस्तुहरु खुलमखुला आइरहेको छ । जसले गर्दा नेपाली व्यवसायीहरु पीडित भएका छन् । विना भन्सारका सामान आउदा यहाँका व्यवसायीहरु धरासयी हुन थालेका छन् । गाय छाप सर्फ उत्पादन हुँदा नेपालमा लाखौ रकम राजश्वको रुपमा सरकारलाई बुझाउनुपर्दछ । तर त्यही प्रकृतिका सर्फ विना भन्सार नेपाल आउदा व्यवसायी ठुलो मारमा परेका छन् भने अर्कातिर राजश्व घाटा भएको बताएका थिए ।

यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री गोविन्द पोख्रेलले उद्योगी व्यवसायीका पिर मर्का बुझ्ने कोही नहुँदा व्यापार व्यवसाय धर्मराएको बताए । उनले यसको समस्या समाधान नदेखेर व्यवसायीहरू पलायनको बाटो रोज्न बाध्य भएको बताए ।

कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्टिज भारतका अर्का सहमहामन्त्री जेपी पाण्डेले संघलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, अन्य पदाधिकारी, व्यवसायी, पत्रकारहरू कार्यक्रममा सहभागी थिए । यसैबीच उद्योग व्यापार संघ कपिलवस्तु आउदो माघ ३ गते भारतको राजधानी दिल्ली प्रगतीनगरमा लागेको उद्योग एक्जीवेसनको अवलोकनका लागि जाने भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८० बुधबार ००:००  ८ : ५१ बजे