५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ प्रहरीका अनुसार बर्दिया, दाङ, रुपन्देही र महोत्तरीमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो । यीमध्ये तीन जना पैदल यात्रु रहेका छन् । जसलाई सवारी साधानले ठक्कर दिएका थिए ।

बर्दियाको राजापुर नगरपालिका १० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १ ज १३३७ नम्बरको इलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री मधुबन नगरपालिका ३ बस्ने ५४ वर्षीय नोखे दमाइको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै दाङको बबई गाउँपालिका ७ चरकमटियास्थित सडकमा पन्चकुलेबाट चरकमटियातर्फ जाँदै गरेको रा ७ प ९८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया रामकुमारी रावतको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देहीको सैनामैना नगरपालिका ३ झारबैरास्थित सडकमा लु १ च ६४९७ नम्बरको भ्यानले लु १७ प २५६६ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका १ सिसै बस्ने २० वर्षीय सुनिल मल्लाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता महोत्तरीको बर्दिबास नगरपालिका १४ बर्दिबास चोकमा ज १ क ४७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउतको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ९स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ४ : ०४ बजे