१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मुस्ताङमा आलु उत्पादन ३३ प्रतिशतले घट्यो



म्याग्दी ।
हिमाली जिल्ला मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ । डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार गएको वर्ष नौ हजार छ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक टन आलु उत्पादन भएको हो ।

चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । गएको वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाण्डौ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ ।

गएको वर्ष ४८ करोड नौ लाख रुपैयाँ बराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख बराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग हुने गरेको छ ।

यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग शहरमा बढी हुने गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  १० : ४३ बजे