७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ताइवान चीनकै अभिन्न अङ्ग हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ‘ताइवान स्वतन्त्रता’ को विपक्षमा रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अङ्ग भएको भन्दै ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी (नेपाल र चीन)ले असल मित्रका रूपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ– हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’

प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै उहाँले दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताउनुभयो ।

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  ९ : ५१ बजे