७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न एकीकृत समाजवादीको निर्देशन



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी भएका आफ्नो पार्टीका मन्त्रीहरूसँग प्रगति विवरण माग गरेको छ ।

सोमवार बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीहरूले गरेका कार्यसम्पादनको विवरण माग गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सचिवालय बैठकले सरकारमा रहनुभएका हाम्रो पार्टीका मन्त्रीहरूले एक वर्षमा के–के गर्नुभयो । यसको सोधिखोजी गरेका हौं । यसैले आफूले गरेका प्रगति विवरण बुझाउन निर्देशन दिएका हौं’, खतिवडाले भने, ‘उहाँहरूले विवरण बुझाएपछि अध्ययन गरेर आवश्यक सल्लाह र सुझाव दिन्छौं ।’

तर तत्काल पार्टीको तर्फबाट मन्त्री फेर्ने कुनै कुनै तयारी नभएको जानकारी उनले दिए । तर नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे पार्टीभित्रै प्रश्न उठिरहेको छ ।

सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।

बैठकले भारत, चीन, बंगलादेशसँग भएका विभिन्न सम्झौता र सहमतिको डकुमेन्ट मगाएर पार्टीको धारणा बनाउने निर्णय गरेको जानकारी पनि उनले दिए ।

बैठकले राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल पनि गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ५५ बजे