४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रोल्पा पुगेर वर्षमानले भनेः जनतामा निराशा बाँड्ने काम रोकिनुपर्छ



रोल्पा ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् ।

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए । नकारात्मकता र निशारा बाँड्नेहरुको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो ।

पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरु पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण साकारात्मक कामहरुले कम चर्चा पाएको उल्लेख गरे ।

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरु हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निशारा बाँड्नेहरुले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरुले समाजका लागि सम्झनलायक योगदान दिनसकेको उदाहरण पनि छैन ।’

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरुकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औंल्याए ।

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, ‘कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौं । केहीमा पछि छौं । मुलुकको विकास जरुरी छ । त्यसका लागि दलहरुबीच सहकार्य र एकताको विकल्प छैन ।’

पुनले आफ्नो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरु भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए । प्रधानमन्त्रीको बितेको एक वर्षे कार्यकाल सुशासन र भ्रष्टाचार नियन्त्रणमा सम्झनलायक भएको दाबी उनले गरे ।

पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ठूलाबडाको पहुँचका आधारमा नभई मुलुक र जनताको आवश्यकताका आधारमा तय हुने बताए । प्रधानमन्त्रीले अहिल्यैदेखि त्यस दिशामा काम अघि बढेको भन्दै पहिलोपटक व्यापक जनसहभागितामा विकासका योजना छनौट गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

फरक प्रसंगमा उनले विशेष गरी माघी पर्व मगर र थारु समुदायको भए पनि सबै जातजाती र समुदायले मान्ने सदभावको पर्व भएको उल्लेख गरे । उनले नेपालको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने औंल्याए ।

प्रकाशित मिति : ३ माघ २०८० बुधबार ००:००  ८ : ४३ बजे