१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगा कार्यपालिका बैठक सम्पन्न, घुम्ती शिविर सेवा दिईने



कपिलवस्तु ।

बाणगंगा नगरपालिका नगर कार्यपालिका बैठक बिहिबार सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभाहलमा भएको आठौं कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा नगरको लोगो छनौटको लागि बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा बनेको समितिले ६ जनाले बनाएका लोगो पेश गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताउनुभयो । अब ति ६ वटा लोगो बाट सबैभन्दा उत्कृष्ट लोगो छनौट गरिने प्रवक्ता पौडेलले बताउनुभयो ।

त्यस्तै बैठकले नगरभित्र घुम्ती शिविर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । आगामि १७ गते बाणगंगा नगरपालिका वडा नम्बर १० को मेचकुरीबाट (एकीकृत सेवा) घुम्ती शिविर सुरु गरिने नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिका बाट प्राप्त हुने सबै सेवा सुविधा प्रदान गरिने नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । त्यस्तैगरि माघ १४ गते सिद्धार्थ क्याम्पसमा सार्बजनिक सुनुवाई गर्ने समेत जनाइएको छ ।

बैठकमा नगर प्रमुख अर्यालले विकासका कामलाई तिव्र गतिमा अगाडि बढउन र योजनाहरु समयमै सम्पन्न गर्नको लागि निर्देशन दिनुभयो । नगरको समग्र विकासमा एकजुट भएर लाग्न पनि उहाँले सम्पुर्ण पक्षलाई आह्वान गर्नुभयो ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रम र अन्य नगर र वडाका योजना तथा कार्यक्रमलाई समयमै सकेर नगरपालिकालाई कर्य सम्पादनमा अगाडि ल्याउन सबै पक्षलाई आग्रह गर्नुभयो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरवासीको भावना अनुरुप काम गर्न आग्रह गर्नुभयो । सेवा सुविधालाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन आग्रह गर्दै आफुले पनि नेतृत्वदायी भुमिका खेल्ने बताउनुभयो ।

बैठकमा ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८० शुक्रबार ००:००  ८ : २० बजे