१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वास्थ्य शिविरको लाभ लिदै २ सय महिलाले पाठेघर जँचाए



वाणगंगा, मायादेवी अनलाइन ।
कपिलवस्तुको वाणगंगा ४ सिद्धार्थमा आयोजित महिलाहरुको पाठेघर जाँच सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा २ सयले स्वास्थ्य जाँच गरेका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको २८ औं वार्षिकोत्सवको अवसर पारेर आयोजित निशुल्क स्वास्थ्य शिविरमा वाणगंगा नगरपालिका र छिमेकी पालिकाका २ सयले स्वास्थ्य जाँच गराएका हुन् । स्वास्थ्य शिविरमा ग्रामिण भेगका महिलाहरुले बढी लाभ लिएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रसुती रोग विशेषज्ञ डा.ज्योति श्रेष्ठ, नर्सिङ्ग कमला ज्ञवाली, अभिषेक मेडिकलका खेमराज भुसाल, शान्ता भुसाल, नेशनल प्याथल्यावका प्रकाश न्यौपाने सहितका चिकित्सकको टोलीले महिलाहरुको पाठेघरको स्वास्थ्य जाँच संगै आवश्यक उपचार गरेको थियो ।
पाठेघर जाँच सम्बन्धी शिविरमा २ सय जनाको भिआईए स्क्रीनिङ गरिएको छ भने तिनीहरु मध्ये २५ जना महिलाको प्याप टेस्ट गरिएको डा. ज्योति श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य जाँच गराएका महिलाहरुको पहिलो स्क्रीनिङ्गमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो ।
शिविरको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले महिलाहरुले नियमित रुपमा आफनो स्वास्थ्य जाँच गराउन सुझाउनुभएको छ । स्वास्थ्य नै धन भएकाले महिलाहरुको स्वास्थ्य संवेदनशीलतामा नगरपालिकाले विशेष निगरानी राखेको बताउदै महिलाहरुको स्वास्थ्य जाँच र उपचारका लागि शिविर र अन्य कार्यक्रमहरु नगरपालिकाले राखेको बताउनुभयो । पछिल्लो समय क्यान्सरका बिरामी धेरै भेटिएकाले समयमै स्वास्थ्य जाच गर्न आवश्यक भएको उपप्रमुख चौधरीले बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले सामाजिक क्षेत्रमा संस्थाले विगत लामो समयदेखि काम गरिरहेकाले ग्रामिण महिलाहरुको स्वास्थ्यमा सहयोग पु¥याउन निशुल्क स्वास्थ्य शिविर राखेको बताउनुभयो । उहाँले विशेषज्ञ डाक्टर सहितको प्राविधिक टिमलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै स्वास्थ्य कार्यक्रमहरु समुदायमा लैजाने बताउनुभयो ।
वाणगंगा नगरपालिकाको सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र कपिलवस्तु सामुदायिक अस्पताल तथा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिविर सम्पन्न भएको सिद्धार्थका शिविर व्यवस्थापन संयोजक तिलोचन घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० माघ २०८० बुधबार ००:००  ९ : ३४ बजे