१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लुम्बिनीमा डिआइजीको मस्ती



काठमाडौं ।
प्रहरी प्रधान कार्यालयबाट भर्खरै डिआइजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनी प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर, लुम्बिनी प्रदेशमा मज्जाले चलेको तस्करीमा सशस्त्रका डिआइजी अभि खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआइजी चन्द्रप्रकाश गौतमको नैतिक सहमतिजस्तो देखिएको छ ।

एकेडेमी मातातिर्थको प्रमुखबाट ५ बाहिनी जान सफल डिआइजी खत्री घर जाने बेलामा अकूत कमाउन लागेका छन् । प्रहरीमा नामुद घुस्याहा भनेर चिनिएका अवकाश प्राप्त अधिकृत छविलाल बञ्जाडेका आफन्त रहेका उनी ५ महिनापछि अनिवार्य अबकाशमा जाँदै छन् । त्यही भएर पनि लुम्बिनी प्रदेशमा कमाउ धन्दा चलेको बताइन्छ ।

अवकाशमा जानुअघि कमाण्ड दिनु नियमविपपरित भएपनि मानवस्रोतका एआईजी गौतमले थमौती गरेर राखेका छन् । अहिले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तुको नाकाबाट तस्करीको धन्दा मौलाएको स्रोत बताउँछ । पश्चिम नवलपरासीका गणपति एसपी धिरेन्द्र न्यौपानेको संरक्षणमा हरपुर, भुजहा, बलिनगरलगायतका नाकाबाट व्यापक तस्करी भइरहेको श्रोतको दाबी छ । ‘अहिले डिआइजी खत्रीलाई मासिक बुझाउनुपर्छ’ एक बिओपी कमान्डरले भने । ‘यसरी बुझाउनु परेपछि तलब दिने कुरा भएन, तस्करी नगराएर के गर्ने त ?’ भन्दै ती जिल्लाका बिओपी तथा गणका कमान्डरले भन्ने गरेको बुझिएको छ ।

यता, रुपन्देहीका एसपी दिपक थापा र डन्डाका डिएसपी किशोरकुमार श्रेष्ठको पारा पनि उही छ । अबैध सामान पक्रेर भन्सार दाखिला गरेर मात्र हुंदैन डिआइजीलाई पनि बुझाउनुपर्छ भन्दै ती जिल्लाबाट तस्करी धन्दा मौलाएको बताइन्छ ।

यता मधेश प्रदेशलाई दुःख दिनसम्म दिएका एआइजी चन्द्रप्रकाश गौतमले लुम्बिनी प्रदेशमा भने सामान्य सोधपुछ गर्ने आँटसम्म गरेका छैनन् । सोझालाई पेल्ने र अलि कडा गर्नेलाई केही बोल्न नसक्ने एआइजी गौतम लुम्बिनीमा केही नभए जसरी आँखा चिम्लिएर बसेका छन् । यस्तै तस्करी कपिलवस्तुमा पनि चलिरहेको छ ।

यता, पोखरा बाहिनीका डिआइजी कालिदास धौबजी र कालिका गणका गणपति धनबहादुर बानियाँलाई अबैध बालुवा चोरीको आरोप लागेको छ । गणको ट्रक पामे लेक लगेर सयौं ट्रक बालुवा कहाँ जान्छ भन्दै पोखराको चर्चित कार्यक्रम गण्डकी छड्केले प्रश्न गरेको थियो । धनबहादुर बानियाँ गुल्मपति हुंदा राशनको पैसा खाएबापत कारबाहीमा परेका ब्यक्ति हुन् । अहिले डिआइजी र एसपी मिलेर अबैध धन्दा चलाएको आरोप छ ।
– दृष्टिन्यूजबाट

प्रकाशित मिति : २४ माघ २०८० बुधबार ००:००  ४ : ५३ बजे