२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

साविक विजेता कतार एसियन कपको फाइनलमा, इरान पराजित



काठमाडौं ।
साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि नै जितेको थियो ।

लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध पार्दै पहिलो पटक फाइनल पुगेको छ ।

खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमै २-१ को अग्रता बनायो ।

तर दोस्रो हाफमा इरानले खेलमा पुनारगमन गर्‍यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २-२ को स्थितीमा पुग्यो । त्यसपछि खेल झन् रोमाञ्चक बनेको थियो ।

८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३-२ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । र अन्तिममा त्यही गोल कतारलाई फाइनल पुर्‍याउन निर्णायक बन्यो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ८ : ०७ बजे