२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेपालसँग क्यानडा पराजित



काठमाडौं ।
एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए ।

क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।

आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ५ : ०१ बजे