११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

७ महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए



काठमाडौं ।
साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको छ ।

पुसमा ६५ हजार ८ सय नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा भने यो सङ्ख्या ६२ हजार १ सय रहेको छ । पुसमा जस्तै माघमा पनि धेरै नेपालीहरु कामको लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । माघमा मात्रै १७ हजार नेपाली यूूएई गएका छन् ।

यस्तै, साउदीमा १२ हजार ३ सय, कतारमा १२ हजार १ सय र मलेसियामा ६ हजार ७ सय नेपाली कामको लागि गएका छन् । पछिल्ला महिना रोजगारीका लागि युरोप जानेहरु बढेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८० बिहिबार ००:००  ९ : ४३ बजे