२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव



नवलपरासी ।
पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ। उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्।

पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ। उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन्। सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन्।

जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिए।

उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उनले बताए। यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ।

लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन्। यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन्।

सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन्। जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८० बिहिबार ००:००  ११ : १८ बजे