१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन उपभोक्तालाई आग्रह



काठमाडौं ।
दुग्ध विकास संस्थानले उपभोक्तालाई स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरेको छ ।

संस्थानले एक विज्ञप्ति निकालेर स्वदेशी दूधको उत्पादन आत्मनिर्भरता उन्मुख रहेकाले उपभोक्तालाई खपत बढाउन अनुरोध गरेको हो । पछिल्लो समय दूध उत्पादक किसानले लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

संस्थानले अहिले आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको क्रय शक्तिमा आएको कमीले बजारमा खपत घटेको, दैनिक सङ्कलन हुने कच्चा दूधलाई प्रशोधन गरी मौज्दात राख्नु परेको जनाएको छ । बजारको मागभन्दा धेरै दूध धुलो दूध र मखनकोरुपमा मौज्दात राख्ने गरिएको छ । यसबाट दुग्धजन्य शृङ्खलाको सन्तुलनमा समस्या भएको संस्थानले जनाएको छ ।

संस्थानले संस्थानसँगको सञ्जालमा आबद्ध संस्थाबाट अहिले पनि दूध सङ्कलन नियमित भैरहेको तर धुलो दूध कारखानाहरु पूर्णरुपमा सञ्चालन नभएको अवस्था रहेको जनाएको छ । मौज्दातकै कारण एक अर्ब रुपैयाँभन्दा धेरै पुँजी ब्लक हुँदा नगद प्रवाह चक्र बिथोलिन पुगेको उसको भनाइ छ ।

संस्थानले किसानलाई भुक्तानी नियमित हुन नसकेको अवस्थामा उपभोक्तालाई समस्या परेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । मौज्दात व्यवस्थापनबाट अहिलेको अवस्थालाई सामान्य बनाउन दुग्ध पदार्थहरुको बिक्री मूल्य घटाइ बजारीकरण र प्रवर्द्धन गर्नेदेखि निर्यात बजार विस्तारको गृहकार्य भैरहेको विज्ञप्तिमा उल्लेख छ । साथै किसानको भुक्तानी सहज बनाउन संस्थानले धुलो दूध र मखनको मौज्दात आधारमा सहुलियत ऋणका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा अनुरोध गरी प्रकृयामा रहेको पनि जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । दैनिक रूपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  २ : ११ बजे