१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बन संरक्षण गर्दै उपभोक्ताको हितमा सधै काम गरेको छु : अध्यक्ष तिवारी



कपिलवस्तु ।

कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले वन व्यवस्थापन सँगै स्थानीय जनतालाई सहुलियत दरमा काठ उपलब्ध गराउने बताउनु भएको छ । साझेदारी वनका संस्थापक अध्यक्ष समेत रहेका तिवारीले अघिल्लो कार्यकालमा गरेका उत्कृष्ट कामलाई निरन्तरता दिँदै आउने वर्षमा जनतालाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम लागु गर्ने बताउनुभयो । ‘बजारमा ५ देखी ६ हजार प्रति क्युबिक फिटमा ए ग्रेडको सालको चिरान पाइन्छ । हामीले आधा भन्दा कम मूल्य पर्नेगरी वितरण गर्ने योजना रहेको छ । त्यसका लागि चिरान मिल स्थापना भएको छ । विद्युत्को समस्याले काम गर्न ढिलाइ भएको छ’ तिवारीले बताउनुभयो ।  उहाँले पछिल्लो कार्यकालको समीक्षा गर्दै उपभोक्ताको हितमा सधै काम गर्न पुन अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

पछिल्लो कार्यकालमा १६५ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाएको २ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको, प्रत्येक वर्ष १ लाख बिरुवा नर्सरीमा उत्पादन गरेको, वनको हैसियतमा वृद्धि भई पाटे बाघ, चितुवा जस्ता जनावर समेत वनमा देखिएको बताउनुभयो । उहाँले साझेदारी वनको शिवराज नगरपालिका ३ छाला फ्याक्ट्रीमा प्रशासकीय भवन समेत निर्माण सम्पन्न भएको  बताउनुभयो । साझेदारी वनले विद्यालयमा डस्टविन, समुदायमा प्रतीक्षालय, सिँचाई योजना निर्माणमा समेत सहयोग पुराएको छ । सत्र हजार बढी उपभोक्ता रहेको वन २०६७ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भई काम सुरु भएको थियो ।

कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ११ गरी ५ स्थानीय तहका २२ वडा समेटिएका छन् । वन क्षेत्र ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अतिक्रमण हटाउन उत्कृष्ट काम गरेको भन्दै नेपाल सरकारबाट सम्मानित समेत भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८० सोमबार ००:००  ९ : १२ बजे