१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणगंगा नगर कार्यपालिका वैठकद्धारा लोगो फाइनल, यस्ता छन् निर्णयहरु



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको आज बसेको वैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । कार्यपालिका वैठकले विगत लामो समयदेखि प्रकृयामा रहेको नगरपालिकाको लोगो छनौट कार्य टुंगाएको छ । वाणगंगा ४ का प्रकाश घिमिरेले तयार गरेको लोगो छनौटमा परेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले मायादेवी अनलाइनलाई बताए ।
वणगंगा नगरपालिकाले नगर पालिकाको लोगो निर्माणको लागि सार्वजनिक सूचना आवहन गरेको थियो । जसमा ३२ जनाले लोगो नगरपालिकामा पेश गरेका थिए । वैठकले नवप्रवर्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागी नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा स्थानीय संवाद समिति गठन गरेको छ । यस कार्यक्रमले गरिब, विपन्न महिला तथा पछाडी परेका आर्थिक अवस्था कमजोर भएकाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने रहेको प्रवक्ता पौडेलले बताए । संघको एक करोड र नगरपालिकाको ३० लाख गरी एक करोड ३० लाख नवप्रवर्धन कार्यक्रमका लागि विनियोजन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघमा नवप्रवर्धन कार्यक्रममा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि देशभरबाट १ सय ४ वटा स्थानीय सरकार(पालिका) छनौट गरेको थियो । जहाँ कपिलवस्तुका १० स्थानीय तह मध्ये वाणगंगा नगरपालिका मात्र छनौटमा परेको थियो ।
नवप्रवर्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन कार्यविधी २०८० वमोजिम आर्थिक वर्ष २०८०।८१ को कार्यक्रम संचालनका लागि आवेदन दिने स्थानीय तहहरु मध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहलाई मन्त्रालयले छनौट गरेको हो ।
नगरपालिकाको वैठकले आ.ब. २०८०।८१ को योजना तथा कार्यक्रमहरु यथाशिघ्र सम्पन्न गर्ने गरी तदारुकता देखाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८० आइतबार ००:००  ८ : ५४ बजे