१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बाक्लियो केपी-माधवको भेट, पार्टी एकताबारे कुराकानी



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो सत्ता गठबन्धन तोडेपछि अब एकीकृत माओवादीलाई पार्टी एकताका लागि फकाउन थालेका छन् ।

यसै क्रममा उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिकिन थालेका छन् । यसअघि यी दुईबीच बोलचाल नै नगर्ने अवस्थामा रहेको सम्बन्ध नयाँ गठबन्धनसँगै सुध्रन थालेको छ ।

शनिबार ओलीले नेपालसँग भेटेर अब एक भएर जान आग्रह गरेका छन् । नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका ओलीले पार्टी विभाजन हुँदा ठूलो असर परेको भन्दै एकतातर्फ जानुपर्ने बताएको स्रोतले जनाएको छ ।

अध्यक्ष नेपालको सचिवालयले दुई नेताबीच भेट भएको तर, के कुरा भयो भन्ने थाहा नभएको जनाएको छ । स्रोतका अनुसार ओली र नेपालबीच आगामी दिनमा कसरी मिलेर जान सकिन्छ भन्नेबारे छलफल भएको छ ।

यसअघि नयाँ गठबन्धन बनेपछि ओली प्रचण्डलाई लिएर नेपाल निवास पुगेका थिए । सुरुमै नयाँ गठबन्धनमा जान हिच्किचाएका नेपाल अहिले सरकारमै सामेल भइसकेका छन् ।

एमाले नेताहरुका अनुसार अब एकीकृत समाजवादीसँग एकताका लागि अध्यक्ष ओलीले पहल अघि बढाएका छन् । नेपाल तयार भए केहीदिनमै एकताको वातावरण बन्ने उनीहरु बताउँछन् ।

पार्टीबाट केन्द्रीयस्तरकै नेतासमेत एमाले प्रवेश गर्ने क्रम बढेको तथा नेता झलनाथ खनालसहितले एमालेसँग मिल्न भनिरहेकाले नेपाल अहिले दबाबमा छन् । एकीकृत समाजवादीसँग एकता भए नेकपा एमाले सबैभन्दा ठूलो दल बन्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८० आइतबार ००:००  ७ : १७ बजे