१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एट्लेटिकोको अप्रत्यासित हार, जिरोनाले बार्सिलोनालाई उछिन्यो



काठमाडौं ।
स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको टीमसँग काडिजसँग अप्रत्यासित हार भोगेको छ । शनिवार राति भएको खेलमा लिगमा १८औं स्थानमा रहेको काडिजले आफ्नो घरेलु मैदानमा एट्लेटिकोलाई २–० गोल अन्तरले स्तब्ध बनाएका हो ।

काडिजको रोमाञ्चक जीतमा २ वटै गोल जुआमानीले गरेका थिए । उनले पहिलो गोल २४औं र दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए ।

यो जीतपछि काडिज २८ खेलपछि २२ अंकका साथ १८औं स्थानमा छ । उ १७औं स्थानको सेल्टा भिगोभन्दा २ अंकले पछि छ ।

एट्लेटिकोका लागि भने यो सिजनको सातौं हार हो । यो हारपछि एट्लेटिकोलाई अब चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगको स्थान बचाउनका लागि चर्को दबाब खेप्नुपर्ने हुन सक्छ । उसलाई पाँचौं स्थानको एथ्लेटिक बिल्बाओले दबाब बढाउन निश्चित छ ।

एट्लेटिको २८ खेलपछि ५५ अंकका साथ चौथो स्थानमा रहेको छ । उ अब एक खेल कम खेलेको पाँचौं स्थानको एथ्लेटिक बिल्बाओभन्दा मात्रै ५ अंकले अघि छ ।

यता, शनिवार राति नै भएको अर्को खेलमा जिरोनाले सहज जीत निकालेको छ । उसले आफ्नै घरेलु मैदानमा पाहुना टोली ओसासुनालाई २–० ले हराएको हो । जिरोनाको जीतमा पहिलो गोल खेलको १३औं मिनेटमा पोर्टुले गरे । यस्तै दोस्रो गोल ८६औं मिनेटमा साभियोले गरेका हुन् ।

यो जीतपछि जिरोना २८ खेलबाट ६२ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनालाई १ अंकले पछि पारेको छ । यी २ टोलीले समान खेल खेलेका छन् । जिरोना अब १ खेल कम खेलेको शीर्ष टोली रियल म्याड्रिडभन्दा ४ अंकले टाढा छ । रियलको ६६ अंक छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८० आइतबार ००:००  ७ : ३४ बजे