१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रचण्डलाई विश्वासको मत दिनेबारे नाउपामा मतभेद



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेकी छन् भने संरक्षक रेशम चौधरीले विपक्षमा मत दिने निर्णय भएको सूचना सार्वजनिक गराएका छन् ।

नाउपाकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले मंगलबार एक सूचना जारी गर्दै प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी हुन् । प्रचण्डले बुधबार संसदमा विश्वासको मत लिँदै छन् ।

श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ ।’

तर, रेशम पक्षधरले भने सरकारलाई समर्थन नगर्ने निर्णय भएको भन्दै विज्ञप्ति जारी गरेको छ । नाउपाका जेष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेका विज्ञप्तिमा ‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने प्रतिपक्षमा बस्ने सरकारलाई समर्थन नदिने’, निर्णय भएको उल्लेख छ ।

यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्यण भएको पनि विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । सुप सरकारमा सहभागी हुनेबारे पनि नाउपामा रेशम र रञ्जिता पक्षबीच विवाद चर्केको थियो । रेशम–रञ्जिता श्रीमान् श्रीमती पनि हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८० मंगलबार ००:००  ८ : ४० बजे