१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुपन्देहीमा ७० वर्षीया वृद्धाको हत्या आरोपमा २९ वर्षीय युवक पक्राउ



बुटवल ।
रुपन्देहीको सियारी गाउँपालिका–७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका–६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणि पाण्डेको घरमा बस्दै आएकी ७० वर्षीया उजेली लोधको हत्या भएको हो ।

हत्या अभियोगमा सियारी गाउँपालिका–७ रामजानकी टोलका २९ वर्षीय प्रभुनाथ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार १३ गते राति साढे १२ बजेको समयमा उजेली लोधको आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिटबाट घाइते भएकी थिइन् ।

घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपियाबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर तल्काल घाइतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संलग्न व्यक्तिको पहिचान एवम् खोजतलास गर्ने क्रममा प्रहरीले थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हठौँडा बरामद भएको उनले बताए ।

पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा वृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  ११ : १० बजे