९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

पाल्पामा हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु



पाल्पा ।
पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकीपख ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित उनीहरु च्यापिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८० आइतबार ००:००  ६ : ५५ बजे