२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आईपीएलमा लखनउको पहिलो जित, पञ्जाब पराजित



लखनउ ।
मयंक यादवले आईपीएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।

ओनपनरद्वय कप्तान शिखर धिवन र जोनी बेयर्स्टोले पञ्जाबलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जीततर्फ अग्रसर गराएका थिए ।

तर, प्लेयर अफ द म्याच घोषित मयंक यादवले घातक बलिङ गर्दै पञ्जाबलाई जितबाट रोक्न सफल भए । १५५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्दै यादवले पञ्जाबका महत्त्वपूर्ण तीन विकेट हात पारे । ४ ओभरमा उनले मात्र २७ रन खर्चेका थिए ।

१२ औँ ओभर ४२ रन बनाएका जोनी बेयर्स्टोलाई आफ्नो शिकार बनाएका उनले प्रभसिमरन सिंह र जितेश शर्मालाई आउट गरे । त्यसपछि पञ्जाबले खेलमा लय नै समाउन सकेन ।

कप्तान धवनले ५० बलमा ७० तथा लियाम लिभिङस्टोनले १७ बलमा २८ रन बनाएपनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । लखनउका लागि मोहसिन खानले पनि २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, क्रुनाल पाण्ड्याले २२ बलमा ४३ रन तथा कप्तान निकोलस पुरनले २१ बलमा ४२ रनको विस्फोट इनिङ्स खेले । पञ्जाबका लागि साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट हात पारे ।

यो सिजन लखनउको प्रतियोगितामा पहिलो जीत हो भने ३ खेलमा पञ्जाबको यो दोस्रो हार हो ।

प्रकाशित मिति : १८ चैत्र २०८० आइतबार ००:००  ७ : ०० बजे