२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा



रियाद ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी प्रो लिग अन्तगरगतको खेलमा अल–नासर ५–१ गोलले विजयी बनेको हो ।

खेलको २० औँ मिनेटमा ओटाभिडोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अल ताईका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।

३६ औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि अल–ताई १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा पुनः अल–नासरलाई अग्रता दिलाए ।

दोस्रो हाफ भने रोनाल्डोको नाममा रह्यो । ६४ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३ मिनेटपछि अर्को गोल थपे । ८७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

यो सिजन ३९ वर्षीय पोर्चुगिज खेलाडीको दोस्रो ह्याट्रिक हो । समग्र करियरमा भने उनको यो ६४ औँ ह्याट्रिक थियो ।

जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८० आइतबार ००:००  ७ : ०३ बजे