११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

हुलाकी राजमार्ग : समय र लागत दुवै बढ्यो



काठमाडौं ।
सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ । साधन र स्रोतको अभाव नहुने भनिए पनि तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढ्न सकेको छैन ।

हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ । आर्थिक वर्ष २०६६/६७ मा शुरु भएको यो आयोजनाको म्याद पटक–पटक थप भएको छ । पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३/८४ मा मात्रै यो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना शुरु गर्दा ६५ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आयोजनाको लागत र समय बढ्दै जाँदा एक खर्ब ९३ अर्ब रुपैयाँ बराबर पुगेको छ । आयोजनामा देखिएका समस्या समाधानका गरिएका पहलसमेत सार्थक बन्न सकेको छैन ।

आयोजनाको अरु क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्ल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन । आयोजना सम्पन्न भएपछि एक हजार आठ सय ५७ किलोमिटर सडक निर्माण हुनेछ । अहिलेसम्म झण्डै एक हजार दुई सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ ।

तराई–मधेशका २१ जिल्ला जोड्ने लक्ष्यका साथ शुरु भएको आयोजनालाई कार्यतालिका अनुसार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि पूरा हुन सकेको छैन ।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  १० : २७ बजे