१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

८ महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ८० अर्ब



काठमाडौं ।
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै ८ महिनाको अवधिमा ८० अर्ब १४ करोड रुपैयाँ वैदेशिक मुद्रा विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाका लागि फागुनसम्म सो परिमाणमा रकम विदेशिएको हो । यस वर्ष सेवा व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यसमध्ये ८० अर्ब शिक्षामा विदेशिँदा भ्रमण व्ययमा ४२ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ ।

यस वर्ष सेवा व्यय गत वर्षको तुलनामा ४५.७ प्रतिशतले बढेको हो । गत वर्ष ८ महिनामा शिक्षा र भ्रमणमा जानेले ८४ अर्ब ३२ करोड रुपैयाँ विदेशी मुद्रा लगेका थिए । त्यसमध्ये विद्यार्थीले ५४ अर्ब ७० करोड रुपैयाँ लगेका थिए ।

पर्यटकबाट नेपालले गर्ने आयमा समेत यस वर्ष उल्लेख्य वृद्धि भएको छ । तर, शिक्षा र भ्रमण व्ययसमेत बढ्दा सेवा खाता भने घाटामै रहेको छ ।

यस वर्ष ८ महिनामा पर्यटकबाट नेपालले ५१ अर्ब ३९ करोड रुपैयाँ आय गरेको छ । यो वर्षको यसै अवधिको तुलनामा ४२.१ प्रतिशत धेरै हो । गत वर्ष भ्रमण आय ३६ अर्ब १६ करोड रहेको थियो । ८ महिनामा सेवा खाता ४४ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । गत वर्ष सेवा खाता ५५ अर्ब ९१ करोडले घाटामा थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  १० : ३६ बजे